एजेन्सी ।
बैंगलोरमा खेलाइने भनिएका आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) का खेलहरु पानीको समस्याका कारण अन्यौलमा परेको छ । बैंगलोर सहरले चार दशकभन्दा लामो समयदेखि पानीको गम्भीर समस्या भोग्दै आएको छ । त्यसैले आगामी आईपीएलका खेलहरु बैंगलोरबाट अन्यत्र सारिनुपर्ने माग हुँदै आएको छ । आईपीएलको १७ औँ संस्करण मार्चको अन्तिम साता सुरु हुँदैछ । कर्णाटक राज्य क्रिकेट संघले भने पानीको अभावका कारण आईपीएलको खेलमा कुनै असर नपर्ने दाबी गर्दै आएको छ ।
आईपीएल सुरु भएको २१ दिनभित्र बैंगलोरको एम.चिन्नास्वामी रंगशालामा तीनवटा खेल खेलाउने कार्यक्रम रहेको छ । कर्णाटक क्रिकेट संघले आईपीएलका क्रममा पानीको विषयलाई लिएर सरकारले लागू गरेका हरेक निर्देशनलाई पालन गर्न आफूहरु तयार रहेको पनि बताएको छ । ‘हाम्रो सहरले लामो समयदेखि पानीको समस्या भोग्दै आएको छ । त्यसैले आगामी आईपीएलका क्रममा हामी सरकारले लागू गरेका हरेक निर्देशन पालना गर्न तयार छौँ. । पानीको अभावका कारण खेल प्रभावित हुँदैन भन्ने कुरामा हामी विश्वस्त पनि छौं,’ कर्णाटक क्रिकेट संघका प्रमुख कार्यकारी अधिकृत सुबेन्दु घोषले भनेका छन् ।
पानीको चरम अभावका कारण अहिले बैंगलोर पानी आपूर्ति तथा ढल निकास बोर्डले बगैंचा वा सवारी साधन धुनेजस्ता अन्य कुनै पनि काममा पिउने पानीको प्रयोगमा रोक लगाएको छ । कर्णाटक क्रिकेट संघका प्रमुख कार्यकारी अधिकृत घोषले भने रंगशालाभित्र रहेको ढल प्रशोसन प्लान्टको पानी क्रिकेट मैदानको आउटफिल्ड र पिचमा प्रयोग गर्न पर्याप्त हुने विश्वास व्यक्त गरेका छन् ।
‘हामीलाई आउटफिल्ड र पिचमा प्रयोग गर्न १० देखि १५ हजार लिटर पानी आवश्यक पर्छ । तर, त्यो पानी हामीलाई रंगशालाभित्र रहेको ढल प्रशोसन प्लान्टबाटै प्राप्त हुन्छ । त्यसैले पानीको समस्याले आईपीएलको खेलमा कुनै प्रभाव पार्ने छैन,’ उनले भनेका छन् । स्थानीय अधिकारकर्मीले भने पानीको चरम अभावलाई ध्यानमा राखी आईपीएलका खेलहरु अन्यत्र सारिनु पर्ने माग गर्दै आएका छन् ।