काठमाण्डौ ।
अर्थमन्त्री वर्षमान पुनले नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि आक्रमण गरिरहेको आरोप लगाउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव समेत रहनुभएका अर्थमन्त्री पुनले कुनैपनि अभियोग पुष्टि नभइ नेपाली काँग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग्ने कुरा सान्दर्भिक नभएको तर्क समेत गर्नुभएको हो ।
मन्त्री पुनले सत्ता समीकरण परिवर्तन हुने क्रम चलिरहने सामान्य प्रक्रिया भएपनि त्यसैलाई लिएर नेपाली काँग्रेसले गृहमन्त्रीको राजीनामा मागेर गैरजिम्मेवार बन्न नहुने बताउनुभयो । शुक्रवार गृहमन्त्री लामिछाने सहकारी ठगीको मुद्दामा मुछिएको भन्दै नेपाली काँग्रेसले नाराबाजी गर्दै सदन बैठक अवरुद्ध पारेको थियो ।