काठमाण्डौ ।
नेपाली काङ्ग्रेसले सहकारी संस्था ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प नभएको बताएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामाको माग कायम राखेको छ । मंगलवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली काँग्रेसका सांसद दीपक गिरीले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको भन्दै आफैँ गृहमन्त्री हुँदा निष्पक्ष छानविन हुन नसक्ने बताउनुभयो ।
सांसद गिरीले यस सम्बन्धमा प्रधानमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने भन्दै टालटुले जवाफले नहुने बताउनुभयो । उहाँले स्वार्थको द्वन्द्व हुनेगरी किन लामिछानेलाई गृहमन्त्री नियुक्त गरियो भनि प्रश्न गर्नुभयो ।