गुल्मी ।
मुसिकोट नगरपालिकाले अपाङ्गता भएका व्यक्तिको हेरचाह गर्ने संरक्षकलाई मासिक एक हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
अपाङ्गता भएका व्यक्तिको हेरचाह गर्ने संरक्षकलाई सहयोगस्वरूप सुविधा प्रदान गर्न लागेको नगरपालिकाका मेयर जीवलाल खरेल ‘जीवन’ ले जानकारी दिनुभयो । नगरभित्रका अपाङ्ताको (क) वर्गका परेका ९५ जनामध्येबाट छनोट गरी अति अशक्त अपाङ्गता भएकाको हकमा मासिक एक हजार रुपैयाँ नगरपालिकाले उपलब्ध गराउने छ ।
कार्यपालिका बैठकले पारित गरेको कार्यविधिअनुसार आफ्नो स्याहार आफैँ गर्न नसक्ने नागरिकको संरक्षकलाई सहयोग गर्ने निर्णय गरेको हो । अपाङ्गता भएकालाई सीप मूलक कार्यक्रम सञ्चालन गरेर जीविकोपार्जनमा थप सहयोग पुर्याउने योजना बनाएको उपमेयर गङ्गाकुमारी श्रेष्ठले बताउनुभयो । मुसिकोट नगरपालिकाभित्र चार सय ४४ जना अपाङ्गता भएका व्यक्ति रहेका छन् ।