रुपन्देही ।
रुपन्देहीको तिलोत्तमामा ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले सेवा शुभारम्भ गरेको छ । रुपन्देहीको तिलोत्तमा–२ जानकी नगरमा शुक्रबार एक समारोहकाबिच माइक्रो इन्स्योरेन्सको लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य लीला गिरीले उद्घाटन गर्नुभयो ।
सो अवसरमा प्रदेश सांसद गिरीले आर्थिक समृद्धिका लागि मुलुकमा रोजगारी सिर्जना गर्नुपर्ने कुरालाई जोड दिनुभएको थियो । उहाँले कृषि क्षेत्रलाई अघि बढाउन सकेमा सहजै समृद्धिको सपना पूरा हुने दाबी गर्नुभयो । गिरीले मुलुक बनाउन राजनीतिक दलको सही भूमिका नभएको स्विकार्दै मुलुकमा स्थिरता जरुरी रहेको उल्लेख गर्नुभयो । युवा पलायन रोक्न देशमै रोजगारी सिर्जना गर्दै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । उहाँले नेपालीलाई बिमाको मूलधारमा ल्याउन जरुरी रहेको भन्दै लगानी सुरक्षाका लागि पनि बिमा अनिवार्य रहेको उल्लेख गर्नुभयो ।
नेपाल बिमा प्राधिकरण सञ्चालक सन्तोष रिजालले मुलुकको अर्थतन्त्रको एक खम्बा बिमा भएको बताउनुभयो । नेपाल बिमा प्राधिकरण सह–निर्देशक साम्भाराज लामिछानेले राम्रो कामका लागि प्राधिकरण सधैँ साथमै रहने बताउनुभयो । प्राधिकरणका लुम्बिनी प्रमुख पूर्णबहादुर थापाले जनतालाई सरल सेवा सहज र दाबी भुक्तानी सहज बनाएर काम गर्न सुझाव दिनुभयो ।
संस्थाका अध्यक्ष जगत पोखरेलले चुक्तापूँजी ७५ करोड रुपियाँ रहेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले निर्जीवन बिमाको काम गर्ने बताउनुभयो । अध्यक्ष पोखरेलले बिमा कम्पनीलाई मुलुककै बलियो आर्थिक खम्बा बनाइने बताउनुभयो । उहाँले स्थानीय सरकार र प्रदेश हुँदै सङ्घीय सरकारसँग समन्वय गरेर रुपन्देहीलाई आर्थिक हब बनाउन चाहेको बताउनुभयो । मध्यम वर्गका नेपाली, साना तथा मझौला व्यवसायीलाई बिमाको मूलधारमा ल्याउने र उनीहरूको सम्पत्तिमा दैवीप्रकोप, आकस्मिकजन्य दुर्घटनाबाट हुने हानी, जोखिमलाई न्यूनीकरण गर्न सघाउने उद्देश्यसाथ माइक्रो इन्स्योरेन्स कम्पनी सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ ।
शिक्षाविद् दीपेन्द्र ढकाल, साइन डेभलपमेन्ट बैङ्कका अध्यक्ष थानेश्वर पौडेल, पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, मनोज भट्टराई लगायतले बोल्दै यस कम्पनीले सेवाग्राहीको मन जितेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।