रुपन्देही ।
रुपन्देहीको देवदह नगरपालिका वडा नं १ पूर्ण संस्थागत प्रसुती सेवा युक्त वडा घोषणा भएको छ । देवदह नगरपालिका वडा नम्बर १ पूर्ण संस्थागत प्रसुती सेवा युक्त वडा घोषणा हुने देवदहको तेस्रो वडा हो । सोमबार एक कार्यक्रमका बिच देवदह १ लाई पूर्ण संस्थागत प्रसुती सेवा युक्त वडा घोषणा गरिएको हो। पूर्ण संस्थागत प्रसुती सेवा युक्त वडा घोषणा गर्दै देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङले देवदह नगरपालिका जिरो होम डेलिभरी पालिका बनाउने अभियानमा लागेको र जस अन्तर्गत देवदह नगरपालिका २ र ३ लाई यस अगाडीनै घोषणा गरिएको र देवदह वडा नम्बर १ पूर्ण संस्थागत प्रसुती सेवा युक्त वडा घोषणा गरिएको बताउनुभयो । कुनै पनि अभियान घोषणा मात्र गरेर सफल नहुने बताउदै उपप्रमुख गुरुङले पूर्ण संस्थागत प्रसुती सेवा युक्त वडाको निगरानी गरि घोषणा भएको कार्यक्रमको अनुगमन गरिने बताउनुभयो । उपप्रमुखको संयोजकत्वमा बनेको नगर प्रजनन समिति र सम्बन्धित वडाको वडा अध्यक्षको संयोजकत्वमा बनेको वडा प्रजनन समितिले पूर्ण संस्थागत प्रसुती युक्त वडामा भएका गतिविधिको अनुगमन गरि प्रक्रियागत रुपमा मापदण्ड पुगेपछि मात्र पूर्ण संस्थागत प्रसुती सेवा युक्त वडा घोषणा गरिएको उपप्रमुख गुरुङको भनाई रहेको थियो ।