काठमाडौँ ।
नेपाल ‘ए’ ले सोमबार खेलिएको तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा आयरल्यान्ड ‘ए’ माथि तीन रनको रोमाञ्चक जित हासिल गरेको छ । जारी शृंखलामा नेपालले यो सान्त्वना जित हासिल गरेको हो । तीन खेलको टी–२० शृंखला भने आयरल्यान्डले २–१ ले जित्यो । पहिलो र दोस्रो खेलमा आयरल्यान्ड विजयी भएको थियो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्डले २० ओभरमा सात विकेट गुमाएर दुई सय १० रनमात्र बनाउन सक्यो ।
तीन खेलको शृंखला भने आयरल्यान्ड ‘ए’ ले यसअघि नै जितिसकेको छ । शुक्रबार खेलिएको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ ले घरेलु टोली नेपाल ‘ए’ लाई २१ रनले हराएको थियो । शनिबार खेलिएको दोस्रो टी–२० खेलमा पनि आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई ४० रनले पराजित गरेको थियो । टी–२० शृंखलापछि नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच तीनवटा एकदिवसीय खेलको शृंखला खेलिने छ ।