काठमाण्डौ ।
रुपन्देहीको देवदह नगरपालिका वडा नं ८ मा बालमैत्री स्थानीय शासन सम्बन्धी एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । देवदह नगरपालिका वडा नं ८ को सामाजिक विकास कार्यक्रम अन्तर्गत जनप्रतिनिधि र सरोकारवालालाई बालमैत्री शासन कार्यान्वयनका लागि प्रतिबद्ध बनाउन अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको उप प्रमुख विद्या लक्ष्मी गुरुङले बालबालिका देशको मेरुदण्ड भएकाले राज्यले बालबालिकाको क्षेत्रमा लगानी गर्नुपर्ने बताउनु भयो । उहाँले बालबालिका क्षेत्रमा अहिले गरिने खर्च भोली लगानीमा परिणत हुने बताउनु भयो । बालमैत्री शासनका लागि थुप्रै चुनौती रहे पनि सबैको प्रयास र हातेमालोबाट यो सम्भव हुनेमा आफु आशावादी रहेको समेत उहाले बताउनुभयो ।
वडा अभिमुखीकरण कार्यक्रम बालमैत्री स्थानीय शासन सम्बन्धी जानकारी, बालबालिका चार अधिकार- बाँच्न पाउने अधिकार, संरक्षण पाउने अधिकार, बिकास गर्न पाउने अधिकार, सहभागिताको अधिकार, सेवा प्रवाह सम्बन्धी लगाएत ५१ वटा सुचकको बारेमा राष्ट्रिय सहजकर्ता शर्मिला पौडेलले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, वडा बाल संजालका पदाधिकारी तथा सदस्यहरु, महिला स्वयंसेविकाहरू, विद्यालयका प्रतिनिधिहरू, होटल व्यवसायीहरु, टोल विकास संस्था, विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रम देवदह नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरि प्रसाद पाण्डेयको अध्यक्षता, वडा सदस्य हरि प्रसाद पौडेलको स्वागत र वडा सचिव सनम परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।