बुटवल ।
रुपन्देहीको देवदह ४ भवानीपुरमा रामनवमी मेला सम्पन्न भएको छ । कोलिय राज्य बुद्ध मावली क्षेत्र विकास समिती, देवदह भवानीपुरको आयोजना बैशाख ३ देखी ५ गते सम्म मेला सञ्चालन भएको थियो ।
समापन समारोहमा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले बौद्ध संग सम्बन्धित यस क्षेत्रलाई पर्यटकीय हिसाबले विकसित गर्ने गरी नगरपालिका अगाडी बढेको बताउनुभयो । उहाले पछिल्लो समय असुरक्षित बन्दै गएको मेला अहिले नगरपालिकाको प्रत्यक्ष संलग्नतामा व्यवस्थित तरिकाले सभ्य रुपमा सम्पन्न भएको बताउनुभयो। आर्थिक मन्दिका कारण व्यापार व्यवसाय ठप्प भईरहेको बेला मेलाले केहि मात्रामा भएनि व्यपारीहरुलाई सकारात्मक प्रतिफल दिएको उहाले बताउनुभयो । मेलामा सबै खालका संस्कृति एकै ठाउँ पाईने हुदा यसको संरक्षण प्रवर्द्धनमा सबैको साथ आवश्यक रहेको उहाले बताउनुभयो ।
कार्यक्रममा विभिन्न कलाकारको सांगीतिक प्रस्तुति र स्थानीय कलाकारको वेजोड प्रस्तुति समेत रहेको थियो । सोहि अवसरमा मेला सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण संघ संस्थालाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रम कोलिय राज्य बुद्ध मावली क्षेत्र विकास समिती, देवदहका अध्यक्ष लिला बल्लभ भट्टराईको अध्यक्षता, देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दमन नाथ रेग्मीको स्वागत र दिनेश चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो ।