काठमाण्डौ ।
सरकारले कतारका राजा शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको क्रममा भोलि सार्वजनिक बिदा दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदाको निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । राजा शेख तमिम बिन हमाद अल थानी वैशाख ११ र १२ गते नेपाल भ्रमणमा आउन लागेका हुन् । कतार तथा खाडी मुलुकबाट यो हालसम्मकै उच्चस्तरीय भ्रमण हो ।
भ्रमणको क्रममा अल थानीलाई एक जोडी हात्ती उपहार दिने तयारी नेपाल सरकारले गरेको छ । चितवनमा पालिएका हात्ती उपहार दिन लागिएको हो ।
भ्रमणको क्रममा नेपालले कतारसँग नयाँ श्रम सम्झौता गर्ने तयारी गरेको छ । अल थानीले सन् २०१३ देखि कतारको शासनसत्ता सम्हाल्दै आएका छन् । उनले कतारका विभिन्न सरकारी पदहरुको जिम्मेवारी सम्हालिसकेका छन् । खेल र स्वस्थ जीवनको बढावा दिन उनले भूमिका निर्वाह गर्दै आएका छन् ।
गत मंसिरमा कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल मुरैखी नेपाल भ्रमणमा आएका थिए । त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत नेतासँग उनले भेटघाट गरेका थिए । नेपालले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेको थियो ।