बुटवल ।
रुपन्देहीको देवदह नगरपालिका वडा नं ५ ले आर्थिक वर्ष २०८१/८२ को योजना तर्जुमा गर्नुपूर्व बालबालिकाका योजना बनाउन बालभेला गरेको छ । ‘बालमैत्री वडा घोषणा’को तयारीमा जुटेको वडाले बालबालिकाको अर्थपूर्ण सहभागितामा योजना निर्माण गर्न वडामा रहेका बाल समुह तथा वडा बाल संजालका बालबालिकाहरुको भेला गरेको हो ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रेले बालबालिका भविष्यको कर्णधार भएकाले बालबालिकाको क्षेत्रमा उल्लेख्य काम गर्ने गरी योजना निर्माणमा लागेको बताउनुभयो । उहाले बालबालिकाको नेतृत्व र व्यक्तित्व विकास गर्दै बालबालिकालाई मुलुकाको नेतृत्व गर्नसक्ने क्षमता बनाउनुपर्ने कुरामा जोड दिनुभएको थियो । उहाले बालमैत्री वडा घोषणा गर्न जनप्रतिनिधिले मात्रै गरेर नसकिने हुदा टोल विकास संस्था, आमा समुह, बाल क्लब, संघ संस्था लगाएत वडाबासि सबैको सहयोग गर्न आग्रह समेत गर्नुभएको थियो ।
कार्यक्रममा २१ वडा टोल स्तरिय बाल समुह र वडा बाल संजालका पदाधिकारी र प्रतिनिधिको सहभागिता थियो। भेलामा सहभागी बालबालिकाले विभिन्न भेलामा छलफल गरेर बालमैत्री योजना, बजेट, कार्यक्रम तथा संरचनाका बारेमा छलफल गरी उपयुक्त योजना प्रस्ताव गरेका छन् । भेलामा वडा बालमैत्री सहजकर्ता बबिता भट्टराईले सहजीकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा वडा सदस्य सावित्रा पौडेल, समाजसेवी प्रविन पौडेल, सरोकारवाला तथा बाल क्लबका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
कार्यक्रम नगरबाल सञ्जालको सचिव संस्कृति घर्तिको अध्यक्षता, नगर बाल संजालको सदस्य कृष्टिना न्यौपानेको स्वागत र वडा बाल संजालको सह सचिव एन्जिला भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।