काठमाण्डौ ।
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । यो सिजन उत्कृष्ट लयमा रहेको कोलकाताले शनिबार राति वर्षाले प्रभावित खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गर्दै प्लेअफमा पुगेको हो । कोलकाताले १२ खेल खेल्दा ९ खेलमा जितका साथ १८ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सको ११ खेलबाट १६ अंक रहेको छ । पराजित भएको मुम्बई भने पहिला नै प्लेअफ होडबाट बाहिर थियो । शनिबार कोलकातामा वर्षाका कारण यो खेल १६–१६ ओभरको खेलाइएको थियो ।
घरेलु मैदान इडेन गार्डेन स्टेडियममा टस हारेर ब्याटिङ गरेको कोलकाताले १६ ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो । जवाफमा मुम्बई इन्डियन्सले १६ ओभरमा ८ विकेट गुमाएर १३९ रनमा रोकियो । वरुण चक्रवर्ती प्लेयर अफ दि म्याच भए । उनले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए । पहिला ब्याटिङ गर्दा कोलकाताको सुरुआत राम्रो भएन । ओपनर फिल साल्ट पहिलो ओभरको अन्तिम बलमा व्यक्तिगत ६ रन बनाएर आउट भएका थिए । त्यसपछि दोस्रो ओभरको पहिलो बलमै सुनिल नारायण जसप्रित बुमराहको बलमा बोल्ड भए । दुवै ओपनर आउट भएपछि बेंकटेश अय्यर र कप्तान श्रेयस अय्यरले पारि सम्हाल्न खोजेका थिए तर, पाँचौँ ओभरको पहिलो बलमै श्रेयस अयर रन बनाएर आउट हुँदा कोलकाताले ४० रनको स्कोरमा तेस्रो विकेट गुमाएको थियो ।
आइपीएलमा आज २ खेल हुनेछन् । पौने ४ बजे चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स भिड्दा राति पौने ८ बजे रोयल च्यालेन्जर्स बेंग्लुरु र दिल्ली क्यापिटल्स आमने सामने हुने छन् । -एजेन्सी