बुटवल ।
रुपन्देहीको देवदहमा सञ्चालित दुईदिने क्यानभासमा ऐतिहासिक देवदह कार्यशाला सम्पन्न भएको छ । कार्यशालाको शनिबार एक समारोहकाबीच लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले समापन गर्नुभएको हो ।
समापन समारोहमा बोल्दै मन्त्री बस्नेतले कार्यशालाले पर्यटन प्रबर्द्धनमा ठूलो टेवा दिने बताउनुभयो । उनले कलाकारहरुले निकै मिहिनेतका साथ बुद्ध र देवदहको इतिहास उतारेको बताउँदै यसका लागि प्रदेश सरकार सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य जानकी न्यौपाने, देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिराबहादुर खत्री, वडाअध्यक्ष मोहन बहादुर जि.सी., नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका प्रज्ञा गोविन्द चौधरी लगाएतले आ-आफ्नो भनाई राख्नु भएको थियो ।
२४ जना कलाकारले क्यानभासमा उतारेका चित्रहरुमा देवदहको इतिहास कोरिएको छ । कार्यशालाबाट बनेका २४ वटा चित्रहरुलाई व्यवस्थित रुपमा राख्ने ड्रिम देवदह यूनिटि फर चेञ्जका सचिव दिपेश बस्यालले जानकारी दिनुभयो ।
ड्रिम देवदहको आयोजना, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा भएको कार्यशालाको देवदह नगरपालिका संरक्षक, पर्यटन डिभिजन कार्यालय रूपन्देही सह–आयोजक र लुम्बिनी विकास कोष प्रर्वद्धक रहेको कार्यक्रम ड्रिम देवदहका अध्यक्ष सिद्धचरण भट्टराईको अध्यक्षता, खयर डाँडा संरक्षण समितिका सल्लाहकार पितम्बर खरेलको स्वागत र पवन पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यशालाको शुक्रबार लुम्बिनी प्रदेशका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती अधिकारीले उद्घाटन गर्नुभएको थियो ।