काठमाण्डौ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १७ औँ संस्करणमा शुक्रबार उपाधि होडबाट बाहिरिइसकेका दुई टोलीबिच भिडन्त हुँदैछ । वानखेड स्टेडियममा राति ७ः ४५ बजे सुरु हुने उक्त खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जाइन्ट्सको सामना गर्नेछ ।
मुम्बई इन्डियन्स यसअघि नै प्रतियोगिताको लिग चरणबाटै घर फर्किने पक्का भइसकेको छ । लखनउको पनि अगाडि बढ्ने सम्भावना प्राविधिक रुपमा मात्र बाँकी छ । यी दुबै टोलीले आफ्नो अन्तिम खेल खेल्न लागेका हुन् । मुम्बई इन्डियन्सले यसअघि खेलिएको १३ मध्ये केवल चार खेलमा जित र नौ खेलमा हारको नतिजा निकालेको छ । मुम्बई आठ अंकसहित तालिकाको अन्तिम अर्थात, १० औँ स्थानमा छ । लखनउले भने यसअघि खेलिएको १३ मध्ये ६ खेलमा जित र सात खेलमा हारको नतिजा निकालेको छ । लखनउ १२ अंकसहित तालिकाको सातौँ स्थानमा छ ।
पञ्जाब किङ्स, गुजरात टाइटन्स र दिल्ली क्यापिटल्स पनि लिग चरणबाटै बाहिरिने पक्का भइसकेको छ । कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद भने प्रतियोगिताको प्ले–अफ चरणमा पुगिसकेका छन् ।
अब प्ले–अफ चरणमा पुग्ने एउटा टोलीको मात्र टुंगो लाग्न बाँकी छ । त्यो एक स्थानका लागि चेन्नई सुपर किङ्स र रोलय च्यालेन्जर्स बैंगलुरु दौडमा छन् । यी दुई टोलीमध्ये चेन्नईको प्ले–अफ चरणमा पुग्ने सम्भावना बढी देखिन्छ ।
हालसम्म १३ खेल खेलेको चेन्नई १४ अंकसहित तालिकाको चौथो स्थानमा आसिन छ । अब चेन्नईले एक खेलमात्र खेल्न बाँकी छ । समान खेल खेलेको बैंगलुरु भने १२ अंकसहित तालिकाको छैटौँ स्थानमा आसिन छ । बैंगलुरुले पनि अब एक खेलमात्र खेल्न बाँकी छ ।
शुक्रबारको खेलमा मुम्बई इन्डियन्सलाई हराएमा लखनउ सुपर जाइन्ट्सको अंक १४ पुग्नेछ । तर, लखनउको नेट रन रेट निकै कमजोर छ । लखनउको हालको नेट रन रेट –०.७८७ रहेको छ । यसको विपरित शुक्रबारको खेलमा लखनउलाई हराएमा मुम्बईको अंक १० मात्र पुग्नेछ । यसले अंक तालिकामा खासै तात्विक अन्तर पार्ने छैन ।
जारी सिजनको आईपीएलमा मुम्बई र लखनउ आपसमा भिड्न लागेको यो दोस्रो पटक हो । यसअघि खेलिएको खेलमा लखनउले आफ्नो घरेलु मैदानमा मुम्बईलाई चार विकेटले हराएको थियो । आजको खेलमा मुम्बई घरेलु मैदानमा लखनउलाई हराउँदै त्यसको बदला लिने धुनमा हुनेछ । लखनउ भने यो सिजन लगातार दोस्रो पटक मुम्बईलाई हराउने योजनामा देखिन्छ ।
-एजेन्सी