काठमाण्डौ ।
अमेरिकाको सबैभन्दा प्रसिद्ध पनडुब्बी मध्येको एक युएसएस हार्डरको भग्नावशेष ८० वर्षपछि दक्षिण चीन सागरमा फेला परेको छ । यो दोस्रो विश्वयुद्धमा २९ अगस्ट १९४४ मा विपक्षीले गरेको आक्रमणमा डुबेको थियो । यसमा रहेका ७९ जना चालक दलका सदस्य सबैको ज्यान गएको थियो । फिलिपिन्सको लुजोन टापुबाट ३ हजार फिट तल पनडुब्बीको भग्नावशेष फेला परेको बीबीसीले जनाएको छ ।
आक्रमण भएको र डुबेको ८० वर्ष भइसक्दा पनि पनडुब्बीको अधिकांश भाग जोडिएकै अवस्थामा रहेको खबरमा उल्लेख छ । डुब्नुअघि अमेरिकाले यो पनडुब्बीलाई जापानी सेनाको कब्जामा रहेको फिलिपिन्सलाई फिर्ता लिन प्रयोग गरिरहेको थियो ।
यो अमेरिकी पनडुब्बीले दोस्रो विश्वयुद्धमा सबैभन्दा धेरै जापानी युद्धपोत डुबाएको बताइएको छ । हराएको ५२ प्रोजेक्ट अन्तर्गत युएसएस हार्डर फेला परेको छ । अरु ५१ वटाको पनि खोजी भइरहेको खबरमा उल्लेख छ । -एजेन्सी