काठमाण्डौ ।
भारतको राजधानीको मुंगेशपुर क्षेत्रमा हालसम्मकै उच्च तापक्रम ५२.३ डिग्री सेल्सियस मापन गरिएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी)का अनुसार मुंगेशपुरको मौसम केन्द्रमा दिउँसो २ः३० बजे ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको हो । गत मंगलबार मुंगेशपुर र नरेलाको अधिकतम तापक्रम ४९.९ डिग्री सेल्सियस र नजफगढमा ४९.८ डिग्री सेल्सियस थियो ।
केही दिनहरूमा अधिकतम तापक्रम क्रमशः बढ्दै गएको र रातको तापक्रममा लगातार वृद्धि भएको छ । भारतका ठुला भागहरू अहिले गम्भीर गर्मीको लहरको चपेटामा छन् । जसले मानिसहरूको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ । गर्मीको लहरका कारण दिल्ली सरकारले पाइपबाट पानी आपूर्तिमा रोक लगाएको छ । दिल्लीको पानीको मुख्य स्रोत यमुना नदीमा पानीको स्तर कम भएका कारण यो कदम चालिएको हो । -एजेन्सी