काठमाण्डौ ।
फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले चीनलाई दक्षिण चीन सागरमा रातो रेखा पार नगर्न चेतावनी दिएका छन्। दक्षिण चीन सागर क्षेत्रमा चीन र फिलिपिन्सबिच द्वन्द्व बढ्दै गएको छ । राष्ट्रपति मार्कोस जुनियरले शुक्रबार यदि कुनै चिनियाँ कार्यले एक फिलिपिन्स नागरिकको पनि मृत्यु हुन्छ भने, फिलिपिन्सले यसलाई ‘युद्धको कार्य’ मान्ने र सोही अनुसार प्रतिक्रिया दिने बताएका हुन् ।
राष्ट्रपति मार्कोस जुनियरले सिङ्गापुरमा विश्वका धेरै देशका रक्षा मन्त्रीहरूको सहभागिता रहेको एक सुरक्षा मञ्चमा बोल्दै थिए । यसमा अमेरिकी रक्षामन्त्री लोयड अस्टिन पनि संलग्न थिए । अमेरिकी रक्षामन्त्रीले यो क्षेत्र अमेरिकाका लागि महत्त्वपूर्ण रहेको र एसिया सुरक्षित भए मात्रै अमेरिका पनि सुरक्षित हुने बताए । हालैका महिनाहरूमा, दक्षिण चीन सागरमा दाबीलाई लिएर चीन र फिलिपिन्स बिचको तनाव बढ्दै गएको छ, धेरै मुद्दाहरूमा टकराबको बिन्दुमा पुगेको छ।
फिलिपिन्सले चिनियाँ जहाजहरूले आफ्नो गस्ती डुङ्गालाई पानीको तोपले आक्रमण गरेको आरोप लगाएको छ भने चीनले आफ्नो सार्वभौमसत्ताको रक्षा गरिरहेको तर्क गरेको छ। विश्लेषकहरूले दक्षिण चीन सागरमा दुई देशबिचको कुनै पनि झडप ठुलो द्वन्द्वमा परिणत हुन सक्ने डर व्यक्त गरेका छन्।
-एजेन्सी