spot_img
spot_img
spot_img

खेल खेल्ने क्रममा एम्बाप्पेको नाक भाँचियो

spot_img

काठमाण्डौ ।

सोमबार अस्ट्रियाविरुद्ध १–० को संघर्षपूर्ण जित हासिल गर्ने क्रममा फ्रान्सका स्टार खेलाडी किलियान एम्बाप्पे घाइते भएका छन् । प्रशिक्षक डिडिएर डेसच्याम्पसका अनुसार उनको नाक भाँचिएको छ र उनले ठिक महसुस गरिरहेका छैनन् । यता फ्रेन्च फुटबल फेडरेसनका अध्यक्ष फिलिपे डियालोले भने पत्रकारहरूसँग एमबाप्पेलाई शल्यक्रियाको आवश्यकता नभएको बताएका छन् । उनको चोटको अवस्था अझै अज्ञात रहेको छ ।

२५ वर्षीय खेलाडी मैदानमा नै रगताम्मे भएका थिए । उनको अनुहारभरि रगत देखिएको थियो । केही समय मैदानमा नै उनको उपचार गरेपछि उनलाई मैदान बाहिर लगिएको थियो ।

फ्रान्सले उनको स्थानमा ओलिभिए जिरुलाई मैदानमा पठाउने तयारी गरेको थियो तर खेल त्यतिकै सुरु गरियो । त्यसपछि एम्बाप्पे बिना अनुमति मैदानमा नै गएर बसेका थिए । उनलाई यसका लागि पहेँलो कार्ड देखाइएको थियो । त्यसपछि मात्र उनको स्थानमा जिरु मैदानमा छिरे।

‘उनको अवस्था ठिक छैन,’ डेसच्याम्पसले खेलपछि आयोजित पत्रकार सम्मेलनमा भने, ‘उनको नाकमा नराम्रो चोट लागेको छ । चोटको अवस्थाबारे हामी जाँच गर्नेछौँ । तर, अवस्था जटिल देखिएको छ । यो हाम्रो लागि दुर्भाग्य हो । अहिले उनको हालत कस्तो छ भन्ने म ठ्याक्कै भन्न सक्ने अवस्थामा छैन ।’

एम्बाप्पेले फ्रान्सका लागि ८० खेलमा ४७ गोल गरेका छन् । तेस्रो युरोपियन च्याम्पियनसिप जित्ने होडमा रहेको फ्रान्सका लागि उनको उपस्थिति महत्त्वपूर्ण छ । सोमबार रातिको खेलमा पनि उनकै क्रसमा अस्ट्रियाका म्याक्स वोबरले आत्मघाती गोल गरेका थिए ।

शुक्रबार हुने नेदरल्यान्ड्सविरुद्धको खेल एम्बाप्पेले गुमाउन सक्छन् भन्ने प्रश्नमा उनले भने, ‘म अनुमानमा जान चाहन्नँ । फ्रान्सको टोली किलयानसँग झनै सशक्त हुन्छ । यदि राम्रो समाचार आएन भने हामी उनी बिना नै लड्नुपर्ने हुनसक्छ ।’ एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img