काठमाण्डौ ।
आइफोन निर्माता कम्पनी निर्माता कम्पनी एप्पलका लागि करारमा उपकरणहरू बनाइदिने ताइवानी कम्पनी फक्सकोनले भारतीय कारखानामा विवाहित महिलालाई काममा राख्न अस्वीकार गरेको पाइएको छ।
सन् २०२३ को मार्चतिरको एउटा घटना सार्वजनिक भएपछि कम्पनीको यो नीतिबारे खुलासा भएको छ । ह्वाट्सएपमा कर्मचारी मागेको विज्ञापन हेरेर दुई दिदीबहिनी पार्वती र जानकी बैंगलुरुस्थित कारखानामा अन्तरवार्ताका लागि गएका थिए ।तर सुरक्षा गार्डले रोकेर विवाहित हो भनेर सोधे अनि दुबैलाई कारखानाको मुख्यद्वारबाटै फिर्ता पठाइदिए । रोयटर्सले गरेको अनुसन्धानका क्रममा फक्सकोनले भारतस्थित मुख्य आइफोन असेम्बल कारखानामा जागिरबाट प्रणालीगत रुपमै विवाहित महिलालाई अलग्याउने गरेको पाइयो । अविवाहितको तुलनामा विवाहित महिलाहरूमाथि पारिवारिक दायित्व धेरै हुने भएकोले कम्पनीले यस्तो गर्ने गरेको बताइएको छ ।
सांस्कृतिक सवाल र सामाजिक दबाबका कारण फक्सकोनले विवाहित महिलालाई काममा राख्ने नगरेको फक्सकोन इन्डियाका पूर्व मानव संसाधन अधिकारी एस. पलले बताएका छन् । विवाहपछिका अनेकौं समस्या भएको र यो मध्ये एक चाहिँ बच्चा भएको उनको भनाइ छ । पिक समयमा कर्मचारीको अभाव हुँदा चाहिँ फक्सकोनले विवाहित महिलालाई काममा राख्ने नीति केही खुकुलो बनाउने गरेको बताइएको छ ।
-एजेन्सी