बुटवल ।
नेपाल एक कृषि प्रधान देश हो । यहाँको ६६.७ प्रतिशत जनसंख्या प्रत्यक्षरुपमा कृषि पेशामा लागेको छ। यहाँ धेरैले कृषि पेशालाई नै जिविकोपार्जनको मुख्य स्रोत बनाएका छ्न। मानिसलाई आफ्नो जीवन निर्वाह गर्नको लागि आवश्याक पर्ने खाद्य तत्व, पौष्टिक तत्व सम्पूर्ण कृषिको सहायताले उत्पादन गर्न सकिन्छ । यहाँ धान, मकै , गहुँ , कोदो , फापर, जौ, भटमास, तोरि लगायतका खाध्यान्न लगाईने र फलाईने गरिन्छ ।
आज असार १५, असार १५ गतेलाई दहि चिउरा खाने दिनका साथै धान दिवसका रुपमा मनाईदै छ । विसं २०६१ साल मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो भने दही चिउरा परम्परा देखी नै खादै आएको पाईन्छ । तर यो परम्परा कहिले देखी सुरु भयो भन्ने एकिन इतिहास नभए पनि धान खेतिको प्रारम्भ देखिनै सुरु भएको मानिन्छ ।
असार महिनामा किसानहरु मानो रोपेर मुरि फलाउने अर्थात बर्षभरी खाने अन्न फलाउने विशेष महिना भएकाले आजको दिनलाई धान दिवसका रुपमा मनाउन थालिएको हो । यतिबेला किसानहरु दिनभरी काममा व्यस्त हुन्छन । यति व्यस्त दिनमा काम गर्न धेरै जोस र शक्ति चाहिने गर्छ । शरिरमा तागत भयो भने सबै काम छिटोछरितो सिध्याउन सकिन्छ । असार १५ को दिन दही चिउरा खानाले काममा जाँगर आउने, शरीरको आलश्यता हट्ने र रोपाइँ कार्यका लागि शरीर फूर्तिलो हुने जनविश्वास रहेको छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता प्रदान गर्नुका साथै शक्ति सञ्चय हुने विश्वास गरिन्छ । सोही कारण असार १५ को दिनमा किसानहरूले खेतमै आलिको छेउमा बसेर दहि चिउरा खाने गरेको पाइन्छ ।
गाउँघरमा किसानहरुले घर मै पालेका गाईभैसीको दुधलाई दहि बनाई घरमै फलाएको धानलाई मिलमा पिसाई चिउरालाई घरमै जमाएको दहिसङ्ग खाने गरिन्छ ।
अझ चर्को घाम लागेर गर्मी भएको बेलामा
दही चिउरा खाँदा शीतलता निश्चयनै प्रदान गर्छ नै । दहिमा कार्बोहाइड्रेट , चिनी र बोसोको मात्रा न्यून हुने हुनाले यसले धेरै अलस्य गराउदैन । दहीमा शरीरलाई चिसो राख्ने एक प्रकारको इन्जाईम हुन्छ, जसले शरीरलाई फाइदा गर्छ ।
असारको गर्मीमा खेतमा धान रोप्दा दही चिउरा खानाले शरिरलाई सन्तुलित राख्ने र दहिमा भिटामिन बी र सी पनि हुने हुनाले दही खानाले काम गर्न शक्ती र जोश पनि प्रदान गर्छ । केहि वर्ष एता असाढ १५ मा दही चिउरा खानै पर्छ भन्ने मानसिकता मानिसहरुमा विकाश भइसकेको छ ।
खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ ।
दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ । यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ ।