काठमाण्डौ ।
हिंसात्मक प्रदर्शन हुन थालेपछि केन्या सरकारले कर वृद्धिको व्यवस्थासहितको विधेयक फिर्ता लिएको छ । केन्याका राष्ट्रपति विलियम रुतोले विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिनुभयो ।
केन्याका जनतालाई सम्बोधन गर्दै राष्ट्रपति रुतोले विधेयक प्रमाणीकरण नगर्ने घोषणा गर्दै उहाँले यो विधेयकबाट पछि हटेको जानकारी गराउनु भएको थियो।
विधेयक फिर्ताको माग गर्दै केन्यामा केही दिनयता विरोध प्रदर्शन हुँदै आएको थियो । संसदले कर वृद्धिको व्यवस्थासहितको विधेयक पास गरेलगत्तै प्रदर्शनकारीले संसदमा आगजनी गरेका थिए । प्रदर्शनले हिंसात्मक रुप लिँदा गत मंगलबार २२ जनाको मृत्युसमेत भएको थियो। स्थिति नियन्त्रणमा लिन सेना परिचालन गरिएको थियो।
प्रदर्शनकारीले राष्ट्रपतिको समेत राजीनामा मागेका थिए। प्रदर्शन नरोकिने छाँट देखेपछि राष्ट्रपति रुतोले विधेयक फिर्ता लिएको घोषणा गर्नुभएको हो । राष्ट्रपति रुतोले प्रदर्शनको अगुवाइ गरेका युवाहरुसँग अब वार्ता गर्ने बताउनु भएको छ । -एजेन्सी