काठमाण्डौ ।
मनसुन भित्रिएसँगै विपद्जन्य घटनाबाट हालसम्म ४७ जनाको ज्यान गएको सरकारले बताएको छ । शुक्रबारको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले यो बारे जानकारी दिनुभएको हो।
मन्त्री अर्यालले नयाँ वर्षदेखि यता हालसम्म ५५ वटा बाढीको घटनाबाट ४ जनाको मृत्यु, १ जना बेपत्ता र दुई जना घाइते भएका बताउनुभयो । उहाँले पहिरोबाट २४ जनाको मृत्यु र १९ जना घाइते भएको र ७७ ठाउँको भारी वर्षाका घटनाबाट ४ जना घाइते भएको बताउनुभयो ।
कुल २८ जनाको मृत्यु, एक जना बेपत्ता र २५ जना घाइते भइ ४६ घर पूर्ण क्षति र ३६ घर आंशिक क्षति भएको उल्लेख गर्नुभयो । उहाँले चट्याङबाट ३२ जिल्ला प्रभावित भइ ९३ वटा चट्याङका घटना भएको र जसबाट १९ जनाको मृत्यु, ३५ जना घाइते भएको बताउनुभयो । उहाँले सबै विपद्का घटनाबाट १७१ पशुचौपायाको क्षति भएको बताउनुभयो ।