काठमाडौँ ।
आज साउन महिनाको १ गते, विविध कार्यक्रमका साथ साउने सङ्क्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलो मैलो पखाली घरपरिवार र आफन्तको साथमा भोज खाएर साउने सङ्क्रान्ति पर्व मनाउने गर्दछन् ।
असार महिनाभर हिलोमा काम गर्दा छालामा कुनै प्रकारको रोग नलागोस भनेर आज लुतो फाल्ने पनि प्रचलन रहेको छ । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।
लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, सङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । यसो गर्दा छालासम्बन्धी कुनै पनि रोग नलाग्ने विश्वास छ ।