२ कात्तिक, एजेन्सी ।
सत्तामा आएको डेड महिनामै बेलायतकी प्रधानमन्त्री लिज ट्रसको प्रधानमन्त्रीको निरन्तरतामा गम्भीर प्रश्न उठ्न थालेको छ। मंगलबार दिनभरको हलचलपछि आम्र्ड फोस मन्त्री जेम्स हेपीले ट्रसको बचाउ गर्दै अहिले प्रधानमन्त्रीलाई बदल्ने समय नभएको बताए । उनले ट्रस हटाएमा पार्टीमा एकता बढ्ने भन्ने दावीलाई खारेज गरे । ट्रस आफैले पनि आगामी आम चुनावसम्म कन्जरभेटिभ पार्टीको नेतृत्व गर्ने बताएकी छन् । तर, लेबर पार्टीले चुनावको माग गरिरहेको छ । बीबीसीका राजनीतिक सम्पादक क्रिस मेसनसँग कुरा गर्दै ट्रसले बजेटमा भएका गल्तीका लागि माफी मागेकी छन् । सोमबार, वित्त मन्त्री जेरेमी हन्टले कर कटौती गर्ने उनका पूर्ववर्ती क्वाजी क्वार्टेङ्गका सबै निर्णयहरू उल्टाए ।
प्रधानमन्त्रीले मंगलबार बोलाएको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्रीले सबै मन्त्रीहरुलाई अघिल्लो बजेट उल्टिएको जानकारी दिएका थिए । हन्टले सबै मन्त्रालयमा कटौती गर्नुपर्ने र बजेट कटौतीका कारण धेरै मन्त्रीहरु निराश हुन सक्ने बताए । धेरैका लागि यो राजीनामाको कारण पनि बन्न सक्ने समेत उनले बताए । ट्रस क्याबिनेट मन्त्री र ब्याकबेन्चर मन्त्रीहरूसँग निरन्तर सम्पर्कमा रहेर पार्टीलाई विश्वासमा लिने प्रयास गरिरहेकी छन् ।
‘पार्टीभित्रको लडाइँ’
तर कन्जरभेटिभ पार्टीभित्र स्थिति सामान्य छैन र प्रधानमन्त्रीलाई हटाउनेसम्मको वहस भइरहेको छ । धेरै सांसदहरूले पार्टीलाई बलियो राख्ने हो भन यो आवश्यक भएको र ट्रसलाई सकेसम्म चाँडो हटाउनुपर्ने बताएका छन् ।