३ कात्तिक, पोखरा ।
पोखरामा जारी रहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज सम्पन्न हुदैछ । समापन समारोहकै अवसरमा पोखरा महानगरपालिकाले आज एक सूचना जारी गरी आज दिउँसो १ बजेपछि महानगरपालिकाका महाशाखा तथा शाखा, वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय एवं मन्टेश्वरीमा विदा दिइएको जनाएको छ।
साथै महानगरले उक्त समारोहमा सम्पूर्ण कार्यालयमा कार्यरत कर्मचारी, शिक्षक, विद्यार्थी र अन्य सामाजिक एवम् सामुदायिक सङ्घसंस्थालाई सहभागी हुनको लागी आग्रह गरेको छ । सहभागिता बीच पोखरा रङ्गशालामा प्रवेशको कार्यक्रम रहेको महानगरले जनाएको छ । राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थलका रूपमा पोखरा महानगरपालिका र यसका विभिन्न वडामा रहेका खेल मैदानमा मुख्य खेलहरु सञ्चालन भइरहेका छन् । समापनमा दशौं संस्करणको राष्ट्रिय खेलकुद आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिनेछ । दशौं संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मंसिरमा आयोजना हुनेछ ।