३ कात्तिक , काठमाण्डौ ।
यही कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ । मंगलवार कात्तिक कृष्ण औँसीका दिन ग्रहणले अपराह्न ४ बजेर ५२ मिनेटमा स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिनेछ । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी साढे सात बजे छोड्ने छ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ बजेर २४ मिनेटमा सूर्यास्त हुने समितिको भनाई छ ।
शास्त्रीय मान्यता अनुसार कात्तिक ८ गते बिहान ४ बजेर ५२ मिनेटदेखि बाल, वृद्ध र बिरामीबाहेक अरुलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुभयो ।