७ कार्तिक, काठमाडौँ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्णऔँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक पनि हो ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने आशु कवित्वको क्षमता थियो ।
विसं २००२ मा किनेर २००४ सालमा देवकोटा सर्नुभएको मैतीदेवीस्थित घरलाई गत असोजदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयका रुपमा स्थापित गरिएको छ । महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गर्नुभभको थियो । नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो । महाकवि देवकोटा जयन्तीका अवसरमा आज विभिन्न कार्यक्रम गरी देशभर देवकोटा जयन्ती मनार्इदैछ ।