९ कात्तिक, काठमाण्डौ ।
यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। कार्तिक शुक्ल प्रतिपदा का दिन आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धार्मिक मान्यता छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
बलि, हली एवं गोरु पूजा भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरूप पूजा आराधना गरिन्छ । यसैकारण तिहारमा देउसी भैलो खेल्नेले हामी त्यसै आएनौँ बलि राजाले पठाए भनेर भट्याउने चलन चलेको हो । यसैगरी वर्षभर गोरु जोत्ने हली एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ ।