१२ कार्तिक, रोहिणी ।
राष्ट्रिय जनमुक्ती पार्टी रुपन्देही निर्वाचन क्षेत्र नं. १ ले रोहिणी गाउँपालिका वडा नं. २ को श्रीनगर टोलमा शनिबार कार्यकर्ता भेटघाट एवं प्रशिक्षण सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्गले स्थानीय जनताहरु रक्सी र मासुमा बिकेको कारण देशको नेतृत्व तहमा नालायक र असक्षम व्यक्तिहरु पुगेको आरोप लगाउनु भयो । आजसम्म जनताले एउटै पार्टी र एउटै व्यक्तिलाई भोट दिएर शासनसत्तामा पुर्याए पनि दलालहरुले देश र जनताको लागि केही पनि गर्न नसकेको आरोप लगाउँदै प्रदेश अध्यक्ष गुरुङ्गले आगामी मंसिर ४ को प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा ती बेइमानहरुलाई जनताले पाखा लगाउनुपर्ने जिकीर गर्नुभयो ।
उहाँले जनमुक्ति पार्टी सबै खाले बिभेद र भ्रष्टाचारको अन्त्य गर्दै देशमा शान्ति, सुशासन र समृद्धि ल्याउने अभियानमा लागेको बताउँदै अब भयरहित समतामूलक समाज निर्माणका लागि सबैजना जनमुक्तिमा गोलबद्ध हुनुपर्ने दाबी गर्नुभयो । कार्यक्रममा बोल्दै निर्वाचन क्षेत्र नं.१(२) का प्रदेश सभा सदस्य पदका उम्मेदवार रेखा प्रसाद चौधरीले देशमा रहेका विविध असमानता र विभेदलाई चिर्दै समतामूलक समाज निर्माणका साथै भ्रष्टाचारको अन्त्य गर्दै समृद्ध मुलुक बनाउने अभियान लिएर आफुले उम्मेदवारी दिएको प्रष्ट पार्नुभयो । कार्यक्रम क्षेत्रीय उपाध्यक्ष सुर बहादुर थापाको अध्यक्षता र नेपाल थारु राष्ट्रिय मञ्चका प्रेस सल्लाहकार मनजीत चौधरीको संचालनमा सम्पन्न भएको थियो ।