रातीमा चिच्याएर वर माग्ने पाल्पाको अनौठो धार्मिक मेला शुक्रबारबाट सुरु भएको छ । विगतमा ३ दिन लाग्ने मेला यो वर्ष ५ दिन लाग्ने छ । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं ४ मा रहेको धार्मिक पर्यटकीय स्थल सत्यवती मन्दिरमा सत्यवती बज्यैले कान कम सुन्ने भएको विश्वासमा चिच्याएर एउटा मात्रै वर माग्ने गरिएको छ । बाँसको लिंगो लिएर आवाज निकाल्ने गरि चिच्याउँदै वर माग्ने र सत्यवती मन्दिर परिक्रमा गरी परिषरको पोखरीमा लिगो गाडेर पूजा गर्ने प्रचलन छ ।
प्रायः रातीमा चिच्याएर वर माग्ने गरिए पनि अचेल दिउँसोमा पनि वर माग्ने गरिन्छ ।
यहाँ एक बज्यै उत्पत्ति भएको र ती बज्यैसँग एक युवाले मनोकाक्षा मागेको,बज्यैले कसैलाई नसुनाए फल पाउने र सुनाए उसको मृत्यु हुने वचन दिएकोमा ती युवाले घर फर्किए लगत्तै सुनाउँदा उनको मृत्यु भएकोले कसैलाई नभन्ने र बज्यैलाई चिच्याएर वर माग्ने चलन बसेको स्थानीयहरु बताउँछन् । परापुर्व कालमा सत्यवती बजैले कुभिण्डोको भाडामा पिउने पानी लिएर हिँडेको र सोही क्रममा यहाँ विश्राम गर्दा पोखिएर बनेको पोखरी पनि कुभिण्डो आकारकै बनेको किम्बदन्ती छ।
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सत्यवती मेलामा दर्शन गर्न र भाकल अनुसार पूजा गर्न आउनेको घुइँचो लाग्दछ। पाल्पा जिल्लासहित छिमेकी जिल्लाहरुका विभिन्न स्थान र भारतको सुनौली, नौतुना, गोरखपुर लगायतका क्षेत्रबाट भक्तजन आउने गर्दछन ।