भैरहवा । राप्रपा, एमाले र जसपाको उम्मेदवारको पक्षमा रुपन्देही क्षेत्र नम्बर ३ मा माहोल बनिरहेको छ । सोमबार लोसपा परित्याग गरी पूर्वमन्त्री कल्पना पाण्डेले तीनदलीय तालमेलकोतर्फबाट साझा उम्मेदवार रहेका राप्रपाका वरिष्ठ नेता दिपक बोहोरा, जसपा नेता महेन्द्र यादव र एमाले नेता तुलसी चौधरीलाई समर्थन गरेकी थिइन् । बिहीबार प्रतिनिधिसभा सदस्य पदको स्वतन्त्र उम्मेदवार नवाब मुसलमानले पनि दीपक बोहराको टीमलाई समर्थन गरेका छन् । टी टेबल चुनाव चिन्ह लिएर रुपन्देही–३ मा चुनावी प्रतिष्पर्धामा मुसलमान थिए । एक कार्यक्रमकाबीच बिहीबार साँझ उनले राप्रपा प्रवेश गरी आफ्नो समर्थन बोहरासहितको तीनदलीय टीमलाई हुने बताए । उनले भने, ‘म पनि चुनावी मैदानमा थिए, तर घरदैलोमा जाँदा, बुझ्दै जाँदा दीपक बोहरा जत्तिको राम्रो र विकासप्रेमी नेता कोहि छैन भन्ने यकिन गरे । सबैले दीपक बोहरालाई जिताउन लागेको थाहाँ पाए, अनि सोचे जसले जित्दैछ त्यसलाई सहयोग गर्न यो राप्रपा प्रवेश गरेको हुँ । ’ भैरहवा क्षेत्रका मुस्लिम समुदायमा राम्रो प्रभाव भएका अगुवाको रुपमा परिचित छन् । मुसलमानलाई राप्रपाका वरिष्ठ नेता, पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक बोहरा, राप्रपा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष तथा पूर्व गृहमन्त्री निरञ्जन थापा, पार्टीका रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणाले माला, टीका लगाएर स्वागत गरेका थिए । मुसलमानसहित ३ सय जना भन्दा बढी राप्रपा प्रवेश गरेका थिए ।
यसैबीच रुपन्देही क्षेत्र नम्बर ३ (१) र ३(२) को विभिन्न क्षेत्रमा घरदैलो पनि सम्पन्न भएका छन् भने विभिन्न पेशागत समूहहरुसँग छलफल र अन्तरक्रियाहरु पनि भइरहेको तीनदलीय संयुक्त प्रचारप्रसार समिति ३ (१)का सह–संयोजक अजय कुमार गुप्ताले बताए ।
रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार नवाब मुसलमान राप्रपामा प्रवेश
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??