भैरहवा ।
राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले राष्ट्रवादी नेता केपी ओलीलाई प्रधानमन्त्री बनाउन दीपक बोहरालाई जिताउनु पर्ने बताउनुभएको छ। वहाँले संसद्मा ओलीलाई प्रधानमन्त्री बनाउन राप्रपाले मतदान गर्ने भएकोले प्रतिनिधिसभा सदस्यमा रुपन्देही क्षेत्र नम्बर ३ बाट बोहरालाई जिताउनुपर्नेमा जोड दिनुभयो। नेकपा एमाले, राप्रपा, जसपा नेपालको सामाजिक संघ–संस्थासँग भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै नेता थापाले पाँच वर्षसम्म स्थिर सरकार चलाउन तीनदलीय तालमेलका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो। संयुक्त निर्वाचन परिचालन प्रचारप्रसार समिति क्षेत्र नम्बर ३ (१), रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले भन्नु भयो, ‘तीनदलबाट प्रधानमन्त्रीको उम्मेदवार केपी ओली हुनुहुन्छ तर पाँचदलीय गठबन्धनबाट प्रधानमन्त्रीको उम्मेदवार को हो थाहा छैन, आलोपालो प्रधानमन्त्रीको कुरा आइरहेको छ तर जनतालाई स्थिर सरकार आवश्यक छ ।’ वर्तमान गठबन्धन सरकारले सत्ताको दुरुपयोग गरिरहेको बताउदै नेता थापाले प्रहरी प्रशासन सबैको हो, प्रहरी प्रशासन कुनै एउटा पार्टी, व्यक्तिको नहुने उल्लेख गर्नु भयो। राज्यले सामाजिक संघ–संस्थालाई सहयोग र संरक्षण गर्नुपर्ने वहाँको भनाइ थियो । विकासप्रेमी नेता तथा राप्रपा वरिष्ठ नेता दीपक बोहरा जनताको हृदयमा बस्न सफल नेता भएको वहाँले बताउनुभयो ।
त्यस्तै रुपन्देही क्षेत्र नम्बर ३ (१) प्रदेशसभा सदस्यका उम्मेदवार महेन्द्र यादवले आफूलाई एकपटक अवसर दिन आग्रह गर्नु भएको छ् । वहाँले जनताले आफूलाई एकपटक अवसर दिए काम गरेर देखाउने दावी गर्नु भयो । नेता यादवले आफूले अहिलेसम्म अवसर नपाए पनि निरन्तर जनताको पक्षमा काम गरेको बताउदै एकपटक मलाई अवसर दिए एकआपसमा मिलेर यस क्षेत्रको विकासका लागि संगै अघि बढेर काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो। वहाँले यस क्षेत्रको विकासका लागि आफूले काम गर्न नसके पुनः उम्मेदवारी नदिने र भोट माग्न पनि नआउने बताउदै जसपाका केन्द्रीय सदस्य समेत रहेका नेता यादवले आदर्शको राजनीति गर्नुपर्ने बताउनु भयो । झुटो आश्वासन दिएर काम नगर्ने नेताहरुको पहिचान गर्ने बेला आएको र आफूसहित प्रतिनिधिसभा सदस्यमा विकासप्रेमी नेता दीपक बोहरा, प्रदेशसभा सदस्य ३ (२) मा तुल्सी प्रसाद चौधरीलाई अत्याधिक मतले जिताउन आग्रह गर्नुभयो ।
इनरह्वील क्लब अफ लुम्बिनीकी निवर्तमान अध्यक्ष मीना नेपाल पन्थीले युवालाई विदेश जानबाट रोकी स्वदेशमै रोजगारको सिर्जना गर्नुपर्ने बताउनु भयो । वहाँले यस क्षेत्रको पर्यटनको विकासमा ध्यान दिन उम्मेदवारहरुलाई आग्रह गर्नु भयो । लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका अध्यक्ष श्री रायमाझीले अर्घाखाँचीमा आफू अध्ययन गर्दा त्यहाँ पनि दीपक बोहराको चर्चा सुनेको बताउनु भयो ।‘धेरै वर्षदेखि दीपक बोहराको नाम सुन्दै आएको छु, अझ यो मञ्चमा बोहराजीको अगाडि बोल्न पाउँदा गर्वको अनुभुति भएको छ उल्लेख गर्नुभयो। राप्रपा केन्द्रीय सदस्य स्वाती थापाको अध्यक्षता, शिवहरि शर्माको स्वागत तथा एमाले नेता उमेश थापा लाटो मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।