काठमाण्डौ । आउँदो आइतवार हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि सबै तयारी पूरा भएको छ । निर्वाचन आयोगले चुनावका लागि सबै तयारी पूरा भइसकेको भन्दै आज बिहीवार राति १२ बजेदेखि चुनावी प्रचार गर्न नपाइने जनाएको छ । पत्रकार सम्मेलन गरेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले मौन अवधिका नियमको कडाइका साथ पालना गराउन निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको बताएका छन ।
निर्वाचन कसुर तथा सजाय ऐनले मतदानको दिनदेखि ४८ घण्टाअघिको समयलाई मौन अवधि अर्थात् स्थिर समय भनेर तोकेको छ । स्थिर समयमा नियम उल्लङ्घन गर्नेलाई २५ हजार रुपैयाँ जरिबाना हुने थपलियाले बताएका छन ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था प्रदान गर्ने गरी दुई दिनभित्र केन्द्र निर्माण गरिने बताए । यो पटकको चुनावमा सुरक्षा व्यवस्था अत्यन्तै कडा हुने भन्दै बुथ कब्जा गरेर चुनाव जित्छु भन्ने नसोच्न प्रमुख निर्वाचन आयुक्त थपलियाले चेतावनीसमेत दिएका छन ।
प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि सबै तयारी पूरा
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??