नेवा समुदायले आफ्नो कला, संस्कृति, परम्परा, भाषाको संरक्षण गर्ने उदेश्यका साथ रुपन्देहीमा दुई दिने -मंसिर २१ र २२ गते- नेवारी खाजा महोत्सव शुरु भएको छ। ‘योमरी पुन्ही’ को अवसरमा भिमसेन नेवाः समाजले बुधबार तिलोत्तमा नगरपालिका–३ स्थित शान्ति चोकमा नेवारी खाजा महोत्सव–२०७९ शुभारम्भ गरिएको हो । महोत्सवको एक कार्यक्रमका बिच तिलोत्तमा नगरपालिका वडा नं ३ का कार्यवाहक वडाध्यक्ष नारायण बश्याल, कार्यपालिका सदस्य लक्ष्मी गिलेले उद्घाटन गर्दै नेवारी खाजा महोत्सव संस्कृति संरक्षणको महत्वपूर्ण पाटोका रुपमा महोत्सव भएको बताए ।
नेवार समुदायमा खाने खानाहरु वैज्ञानिक, मौसम र समयसापेक्ष हुने समाजका अध्यक्ष खिमनारायण श्रेष्ठले बताए । शरिरलाई बाहिरी मौसमबाट बचाउने लाभदायक खानाहरु नेवारी समुदायमा खाने प्रचलन रहेको उनले बताए । ‘चिसो मौसम शुरु भएपनि तातो खानाका परिकार खाने प्रचलन रहेको छ ।’– समाजका अध्यक्ष श्रेष्ठले भने ।
चामलको पिठोबाट बनाईने एक खाने परिकार योमरी हो । नयाँ बाली भित्र्याइएको चामललाई मसिनो गरि पिसेर त्यसबाट बनाइएको एक किसिमको परिकार योमरी पर्वका रुपमा नेवार समुदायले योमरी पुन्ही मनाउँछन् । अण्डाकार रुपमा बनाइएको पीठोको रोटीभित्र चाकु र तिलको मिश्रण राखिन्छ । यसलाई वाफमा पकाएर तयार गरिन्छ । महोत्सवमा योमरी र आलुका परिकारहरुको प्रदर्शनीमा राखिएका छन। नेवारी जातिय संस्कृति, परम्परागत खानपानहरुको संरक्षण गर्ने उद्देश्यका साथ नेवारी खाजा महोत्सव आयोजना गरेको समाजका सचिव सितुप्रसाद श्रेष्ठले बताएका छन ।
तिलोत्तमा नगरमा बसोबास गर्ने विभिन्न पेशा व्यवसायमा आवद्ध भएका नेवारहरुको सक्रियतामा दुई वर्षअघि भिमसेन नेवाः समाजको स्थापना भएको सचिव सितु प्रसाद श्रेष्ठले बताए । आगामी दिनहरुमा नेवारी कन्याहरुको ईहि (बेलविवाह), नया वर्ष (न्यु दया भिन्तुना), गाईजात्रा लगायतका कार्यक्रमलाई निरन्तरता दिने उनले बताएका छन ।महोत्सवमा एक सय रुपैयामा योमरी र आलुको अचार उपलब्ध रहेको संयोजक कृष्णा श्रेष्ठले बताईन । समाजमा तिलोत्तमा नगरका २५ घरधुरीहरु आवद्ध रहेका छन ।
तिलत्तोमामा नेवा: खाजा महोत्सव शुरु
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??