पाल्पाको रामपुर नगरपालिकामा सार्वजनिक जग्गा संरक्षण अभियान सुरू गरिएको छ। सार्वजनिक जग्गा ओगटेर बनाइएका संरचना हटाएर जग्गा संरक्षणमा यस क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दल लगायतका सरोकारवाला निकायले जोड दिएसङ्गै यो अभियान अघि बढाईएको हो । सार्वजनिक जग्गा संरक्षण तथा बाल खेल संसार अभियानका संयोजक कृष्णप्रसाद पौडेलले सार्वजनिक जग्गा संरक्षण गरेर सो जग्गामा बाल उद्यान तयार पार्ने अभियान रामपुरबाट सुरू गरिएको बताएका छन ।
रामपुरमा विभिन्न स्थानमा सार्वजनिक जग्गा ओगटेर घर, भवन, टहरा बनेका थुप्रै संरचना छन्, ती संरचनालाई हटाएर बालबालिकाको शारीरिक तथा मानसिक विकास गराउन, उनीहरूलाई रमाउने, खेल्ने वातावरण सिर्जना गर्न सार्वजनिक जग्गामा बाल उद्यान तयार पार्नु पर्नेछ, यसलाई अभियानका रूपमा हामीले अगाडि बढाएका छौुं, पौडेलले भने ।
सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानअन्तर्गत सार्वजनिक जग्गामा बनेका संरचना हटाउने निर्णय नगरपालिकाले गरिसकेको र राष्ट्रिय गौरवका आयोजना सञ्चालन भएका स्थानबाट कामको थालनी गर्ने रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताएका छन । राजनीतिक शक्तिको आडमा रहेर रातारात सार्वजनिक जग्गा ओगटेर घर, भवन, टहरा बनाउने गलत प्रवृत्ति छ। त्यसलाई रोक्न र सार्वजनिक जग्गाको सदुपयोग, संरक्षण गर्दै बाल खेल संसारको योजना समितिले ल्याएको छ।