नेपाल मजदुर किसान पार्टी अछाम जिल्ला समितिले सोमबार गैरीटाँडमा निर्वाचन समीक्षा कार्यक्रम सम्मन्न गरेको छ। कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईंले पुँजीवादी निर्वाचन पुँजीवादी शासक दलहरुले साम दाम दण्ड भेदको नीति अख्तियार गरी व्यापक धाँधली गरेको आरोप लगाउनुभयो । नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले शासक दलका उम्मेदवारहरुले करोडौं करोड पैसा खर्च गरी चलखेल नगरेको भए प्रतिनिधिसभा र प्रदेश सभाहरुमा नेमकिपाका प्रतिनिधिहरु अझ बढी संख्यामा सहभागी हुने निश्चित हुने दाबी गर्नुभयो । यस्तै नेमकिपाका पूर्व केन्द्रीय सदस्य उदयजंग शाहीले निर्वाचनपछि पनि पार्टी कार्यकर्ताहरु सक्रिय भएर जनताको सेवामा समर्पित हुनुपर्नेमा जोड दिनुभयो। नेक्राविसंघका विरेन्द्रबहादुर शाही र नेमकिपा अछामका अध्यक्ष झंकरबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेक्रायुसंघका राजेन्द्र शाहीले नेमकिपालाई मतदान गर्ने मतदाताहरुलाई धन्यवाद दिनुभयो ।
यसैगरी अछामको कमल बजारमा भएको समिक्षा कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य हरिसुन्दर वासीले समाजवादी व्यवस्थामा गाउँ र सहरको भेद अन्त्य हुने र सारा कामदार जनताका छोराछोरीले व्यक्तित्व विकासमा समान अवसर पाउने बताउनु भयो । सोमबार कमलाबजार नगरको हात्तीमाझस्थित कात्यायनी मावि विद्यार्थी हित समितिद्वारा आयोजित विद्यार्थी भेलामा केन्द्रीय सदस्य वासीले समाजवादी व्यवस्था र पुँजीवादी व्यवस्थाको अन्तरबारेमा प्रशिक्षण दिनुभयो । केन्द्रीय सदस्य वासीले समाजवादी व्यवस्थामा शिक्षा र स्वास्थ्य निशुल्क बन्दोबस्त हुने चर्चा गर्दै योग्यता अनुसार काम र काम अनुसारको ज्याला पाउने सुविधाको लागि समाजवादी व्यवस्था स्थापना गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय सचिव दिनेश खड्गीले विद्यार्थीहरुको पाठ्यक्रमभन्दा थप अध्ययन र सिर्जनात्मक गतिविधिको लागि नेक्राविसंघले सहयोग गरिरहेको उल्लेख गर्दै नेक्राविसंघ आफैमा एक वैचारिक विद्यालय भएको बताउनु भयो । विद्यार्थीहरुले आफ्नो लक्ष्य अनुसार विषयमा सानैबेला तयारी गर्दै जानुपर्नेमा जोड दिंदै केन्द्रीय सचिव खड्गीले जुनसुकै विषयमा विज्ञता हाशील गरे पनि देश र जनताको हितमा योगदान पुर्याउनु पर्ने बताउनुभयो। नेक्राविसंघ अछाम जिल्ला अध्यक्ष विरेन्द्रबहादुर शाहीले अतिरिक्त गतिविधिमा सहभागी भएर विद्यार्थीहरुले आफ्नो क्षमता अभिवृद्धि गर्न सकिने उल्लेख गर्नुभयो ।