नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश संयोजक एवम् केन्द्रीय सदस्य सरोजराज गोसाईंले निर्वाचनलाई नेमकिपाले वर्गसंघर्षकै शिलशिलाको रुपमा उपयोग गर्न सफल भएको बताएका छन। मंगलबार दैलेखको डुंगेश्वर गाउँपालिकामा सम्पन्न निर्वाचन समीक्षा बैठकमा संयोजक गोसाईंले देशघाती एमसीसी सम्झौता तथा नागरिकता विधेयक पारित गर्ने देशद्रोही शासकहरुको विरोधमा नेमकिपाले गाउँ गाउँमा व्यापक जनतालाई सचेत बनाएको स्पष्ट पारेका छन। नेमकिपाले उठाएको आवाजलाई समर्थन गर्दै सचेत मतदाताले मतदान गरेको कारण विगतमाभन्दा यसपटक समानुपातिकमा मत बढेको उल्लेख गर्दै संयोजक गोसाईंले कसैलाई लोभलालच नदेखाई, कसैलाई डरत्रास नदिई नेमकिपाको सिद्धान्त, नीति र दृष्टिकोणको आधारमा प्राप्त मतको कारण शासक दलहरु तिरमिराएको बताएक हुन।
बैठकमा नेमकिपाका केन्द्रीय सदस्य एवम् दैलेख जिल्ला समितिका अध्यक्ष जग्यबहादुर शाहीले आफ्नै विचार, दृष्टिकोण र घोषणापत्रको आधारमा नेमकिपाले मात्र निर्वाचन लडेको बताउँदै शासक दलहरुले अवाञ्छित चलखेल नगरेको भए नेमकिपालाई कसैले हराउन नसक्ने दावी गरेका छन। निर्वाचनमा जितेका र हारेका शासक दलहरुका उम्मेदवारहरुले घरघडेरी बेचेर पैसाको खोलो बगाएको चर्चा बाहिर आएको उल्लेख गर्दै अध्यक्ष शाहीले गठबन्धन वा तालमेलको नाममा शासक दलहरु पाँचसात वटा दल मिले पनि कसैले बहुमत ल्याउन नसकेको बताएका हुन ।
नेमकिपा डुंगेश्वर गाउँ समितिका अध्यक्ष जगत ओलीको अध्यक्षतामा सम्पन्न बैठकमा नेमकिपाका पूर्व केन्द्रीय सदस्य उदयजंग शाही, केन्द्रीय सदस्य नर्मा गुरुङ्ग, हरिसुन्दर वासी लगायत गाउँ समितिका पदाधिकारीहरुले मंसिर ४ गते सम्पन्न निर्वाचनबारे आ आफ्नो अनुभव सुनाएका थिए ।
यसैगरी सोमबार साँझ राकम कर्णालीमा आठबीस नगरको निर्वाचन समीक्षा भेला सम्पन्न भएको छ। उक्त बैठकमा नेमकिपा कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईं निर्वाचन सकिए पनि पार्टी कार्यकर्ताहरु अझबढी सक्रिय भएर देश र जनताको सेवामा समर्पित हुनुपर्नेमा जोड दिएका छन । पार्टीका कार्यकर्ताहरु हरेक विषयमा जानकार हुनुपर्ने चर्चा गर्दै विद्यालय र स्वास्थ्य केन्द्रका सेवाहरु प्रभावकारी बनाउन कार्यकर्ताहरु जागरुक हुनुपर्नेमा जोड दिएका छन ।
नेमकिपाका पूर्व केन्द्रीय सदस्य उदयजंग शाहीले निर्वाचन प्रचारको क्रममा जनताको घर दैलो गर्नेबेला एक दिन र एक पटक पनि कसैबाट नेमकिपाको आलोचना सुन्नु नपरेको अनुभव बताए। नेमकिपा पुँजीवादी सरकारमा जाँदैन भन्ने जनताले बुझिसकेको उल्लेख गर्दै पूर्व केन्द्रीय सदस्य शाहीले नेमकिपाले उठाएको देशभक्तिपूर्ण मुद्दामा व्यापक जनताले समर्थन गरेको बताएका छन । नेमकिपा आठबीस नगर समितिका अध्यक्ष जयबहादुर बडुवालको अध्यक्षतामा सम्पन्न समीक्षा भेलामा नेमकिपाका केन्द्रीय सदस्य बजिरसिंह बिक, नविन सिजापति लगायतले नेमकिपालाई मतदान गर्ने मतदाताहरुलाई धन्यवाद दिएका छन । ।