नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज सोमवार भएको एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । साथै आजै अन्य ७ जना मन्त्रीहरुले पनि शपथ ग्रहण गर्नुभएको छ ।
प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री नियुक्त हुनुभएको छ। एमालेको तर्फबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्नुभएको हो । यस्तै एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई पनि मन्त्री बन्नुभएको छ । यस्तै जनमत पार्टीबाट अब्दुल खान मन्त्रीमा नियुक्त हुनुभएको छ ।
उहाँहरुको जिम्मेवारी पछि तोकिने जनाईएको छ। समारोहमा, उपराष्ट्रपति, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख, पूर्वप्रधानमन्त्रीहरू, सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो । समारोहमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, कुटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मीलगायतको पनि उपस्थिति थियो ।