रुपन्देही सहित पश्चिम तराईमा चिसो बढेसंगै जनजीवन प्रभावित बनेको छ । पुष लागेपछि हुस्सु र कुहिरोले आकाश ढाकेपछि घाम लाग्न सकेको छैन । विहानैदेखि बाक्लो हुस्सु र कुहिरोले बाहिर हिड्डुल गर्न समेत समस्या परेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ । प्रदेश १ र सुदूरपश्चिमका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । शुक्रबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।