एजेन्सी । थाइल्यान्डको सिमाना पोइपेटमा रहेको कम्बोडियाको एउटा क्यासिनोमा आगलागी हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ भने अन्य ५० जना घाइते भएका छन् । घाइेतको पूर्ण विवरण प्राप्त भएको छैन । पोइपेटमा रहेको ग्रान्ड डायमन्ड सिटी क्यासिनोमा लागेको आगो निभागउन १२ घण्टाभन्दा बढी लागेको थियो । थाइल्यान्डका दमकल पनि आगो निभाउन पोइपेट पुगेका थिए ।
सामाजिक सञ्जालमा राखिएका तस्बिरमा पीडितहरू छानाबाट खसिरहेका, सहयोगका निम्ति याचना गरिरहेका तथा आगोको ज्वालाबीच फसेका देखिन्छन् । आगोको चपेटामा होटलका कर्मचारी र छिमेकी देश थाइल्यान्डका ग्राहक परेका छन् । तेह्रौँ, चौधौँ र पन्ध्रौँ तलाबाट सहायताका निम्ति अनुरोध आएको अग्नि नियन्त्रण कार्यालयका अधिकारीहरूले बताएका छन् ।