राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकारमा जाने भएको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले आफ्ना सर्त पुरा भए सरकारमा जाने निर्णय गरेको हो । धुम्बाराहीमा रहेको पार्टी कार्यालयमा बुधबार बसेको बैठकले सरकारमा सहभागी राजनीतिक दलका न्यूनतम साझा कार्यक्रमको अध्ययन गरेपछि मात्र पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
राप्रपाले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिनुपर्ने, मन्त्रिपरिषदबाट हुने विवादित निर्णय पनि अख्तियारबाट छानबिनको दायरामा ल्याउनुपर्ने लगायतका सर्त सरकारसँग राख्ने निर्णय गरेको छ । संघीय संसदमा १४ सिट रहेको राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ ।
बैठकमा धेरैजसो नेताले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको अवस्थामा सरकारमा सहभागी हुनुपर्ने सुझाव दिएपछि सरकारमा जानुपर्ने धारणा राखेका थिए ।