भारतीय क्रिकेट टिमका विकेटकिपर ऋषभ पन्त चढेको कार दुर्घटना भएको छ । उत्तराखण्डको प्रदेशको रुडकीमा आज शुक्रवार भएको कार दुर्घटनामा ऋषभ पन्त गम्भीर घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार क्रिकेटर पन्तको कार उत्तराखण्डको रुडकीमा डिभाइडरमा ठोक्किएको हो । कारमा ऋषभ एक्लै रहेका र आफैँले कार चलाइरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनलाई उपचारका लागि देहरादूनको म्याक्स अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनापछि कारमा आगो लागेको र ऋषभ झ्याल फोडेर बाहिर निस्किएका सञ्चारमाध्यमले जनाएका छन् । उनको खुट्टा र शरीरको केही भागमा गम्भीर चोट लागेको र अहिले खतरामुक्त रहेका डाक्टरहरूले बताएका छन् । अहिले उनको अवस्था खतरामुक्त छ । कार चलाउँदा पन्त निदाएकाले कारले नियन्त्रण गुमाएर डिभाइडरमा ठोक्किएको प्रहरी अधिकारीहरूले बताएका छन् । उनी कारबाट उत्तराखण्डमा रहेको आफ्नो घर जाँदै थिए ।