विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले पुरानै चलिरहेको प्रक्रियामा रहनै निर्देशन दिनुभएको हो । प्रधानमन्त्री प्रचण्डले उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलमार्फत तत्कालका लागि यो नियम कार्यान्वयन नगर्न भन्नुभएको प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
नेपाल दूरसञ्चार प्राधिकरणले भन्सार छलीको मोबाइल नियन्त्रण गर्न भन्दै आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० कार्यान्वयन गर्ने समयसीमा तय गरेको थियो । त्यो व्यवस्था लागू भएपछि विदेशबाट फर्किने क्रममा ल्याइएको उपहारका रूपमा एकभन्दा बढी मोबाइल फोन ल्याइएमा १८ प्रतिशतसम्म भन्सार लाग्ने र तेस्रो मोबाइल ल्याएमा भन्सार विभागले जफत गरिनेछ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोग निरुत्साहित गर्न खोज्दा त्यसको विरोध सुरु भएपछि प्रधानमन्त्रीले चासो व्यक्त गर्नुभएको हो ।
भन्सारमा घोषणा नभएको मोबाइल फोन आजदेखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने प्राधिकरणको भनाइ छ । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेट प्रज्ञापनपत्रसहित राहदानी र नागरिकता वा रााष्ट्रिय परिचयपत्रका आधारमा मात्र दर्ता गरिने सूचनामा उल्लेख छ । विदेशबाट एक थान मोबाइल ल्याउँदा सरकारले १८ प्रतिशतसम्म कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीले विरोध गरिरहेका छन् ।