बुटवल उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशन शुरु भएको छ । नगरसभाको बैठकमा सम्बोधन गर्दै नगरप्रमुख खेलराज पाण्डेयले चालु आर्थिक वर्षका लागि तय भएका योजनाहरु समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिने बताउनुभएको छ। उहाँले नगरका जनप्रतिनिधि र कर्मचारीले अधिकतम समय योजना सम्पन्न गर्न र व्यवस्थित सेवा प्रवाह गर्नतर्फ ध्यान दिने बताउनुभयो । चालु आर्थिक वर्षमा हासिल भएका उपलब्धि र प्रयासहरुको ३५ बुँदे सम्बोधन गर्दै उहाँले बुटवल उपमहानगरपालिका वडा नं. १३ र १७ मा १६÷१६ बेडका अक्सिजन सहितका दुई अस्पताल स्थापना गर्ने काम अघि बढेको बताउनुभयो।
उहाँले उज्यालो बुटवल अभियान अन्तरगत बुटवलका ५२ वटा स्थानमा उच्च क्षमताका सडक बत्ती जडान, संघीय सरकारबाट प्राप्त हुने विशेष अनुदानका लागि बुटवलका पछाडि परेका ६ वटा विद्यालयको स्तरोन्नति लगायतका कामका लागि नगरले अगुवाई गरिरहेको बताउनुभएको छ । नगरप्रमुखले प्रस्तुत गरेको प्रगति विवरणमा बुटवलको ठेला व्यवस्थापन, इरिक्सा व्यवस्थापन गर्ने काम जारी रहेको र छाडा चौपाया व्यवस्थापनका लागि कार्यविधि तयार गरी प्रक्रिया अघि बढाएको बताउनुभयो। उहाँले रोजगारदाता र रोजगारप्राप्त गर्ने व्यक्तिबीच समन्वय र श्रमसम्बन्धि सहजीकरणका लागि श्रम बैंक स्थापनाको काम अघि बढेको बताउनुभएको छ ।
बुटवलको बस्तीमाथि रहेको विद्युत प्रशारण लाईन बस्ती क्षेत्रबाट हटाउन र बुटवलमा विद्युतीय तार भूमिगत बनाउनका लागि नेपाल विद्युत प्राधिकरणसँग छलफल गरी आवश्यक प्रक्रिया अघि बढाएको, बुटवलको खानेपानी समस्या समाधानका लागि हिलपार्कमा खानेपानी ट्यांकी निर्माण गर्ने र चिडियाखोला खानेपानीको निर्मलीकरण गर्ने गरी प्लान्ट स्थापना गर्नका लागि सर्भे गर्ने काम अघि बढेको उहाँको भनाई छ । नगरसभाको बैठकमा स्वास्थ्यसम्बन्धि ऐन पहिलो संसोधनको प्रस्ताव विधायन समितिका संयोजक नरेन्द्र बस्नेतले टेबुल गरे । बस्नेतले प्रस्ताव टेबुल गरेपछि बैठक माघ ११ गतेसम्मका लागि स्थगित भएको छ।