सिरहाको एक विद्यालयमा पानी भनेर स्प्रिट पिउँदा एक जना छात्राको ज्यान गएको छ । सिरहाको मिर्चैया नगरपालिका–६ सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जनाकुमारी महराको पानी भनेर स्प्रिट पिउँदा ज्यान गएको हो । अस्ति शुक्रवार पेट दुखेपछि सिर्जनाले औषधि खान पानी मागेकी थिइन।
शिक्षिका अम्बिका लम्सालले पानी भनेर झुक्किएर स्प्रिट दिएको र त्यो खाएकाले सिर्जनाको ज्यान गएको स्थानीयवासीले बताएका छन्। सिर्जनाको उपचारका क्रममा हिजो शनिवार कर्जन्हाको फुलकुमारी महतो अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
शिक्षिकाको लापर्बाहीका कारण छात्राको ज्यान गएको भन्दै स्थानीयवासीले आन्दोलन गरेका छन। उनीहरूले शिक्षिकाको लापर्बाहीका कारण छात्राको ज्यान गएको भन्दै बिहानैदेखि पूर्व–पश्चिम राजमार्गको मिर्चैयामा सडक बन्द गरेर आन्दोलन गरेका हुन । स्थानीयवासीले इलाका प्रहरी कार्यालय मिर्चैयामा ढुङ्गामुढा गरेका छन् । ढुङ्गामुढाबाट कार्यालयमा क्षति पुग्नुका साथै पाँच जना प्रहरी घाइते भएका मिर्चैयाका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताउनुभयो ।