देवदह । सामुदायिक वनलाई आयमुलक क्षेत्र संग जोड्न सकेमात्र आर्थिक विकास गर्न सकिने प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले बताउनुभएको छ ।
उहाले वनको संरक्षण, सम्बर्धन संगै सामुदायिक वनलाई उत्पादन संग जोड्न आवश्यक रहेको औल्याउनुभयो। बुद्ध सामुदायिक वन उपभोक्ता समुह देवदह–५, को ११ औं बार्षिक साधारण सभा तथा भवनको उद्घाटन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो। सांसद विश्वकर्माले बुद्ध सामुदायिक वनले निर्माण गरेको गौतम बुद्ध राष्ट्रिय उद्यानले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सहयोग गरेको बताउनु भयो। नेकपा एमालेका केन्द्रिय सचिव समेत रहनु भएका सांसद विश्वकर्माले उद्यानको विकासको लागि आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
उहाले आमउपभोक्ताहरुलाई उद्यमी बनाउने गरी सामुदायिक वनहरुले योजना निर्माण गर्न आवश्यक रहेको बताउनु भयो। उहाले नागरिककोमा जीवनस्तर उकास्ने गरी सरकारले काम गर्नेमा जोड दिनु भयो। उहाले संघीय सरकारले आकार लिए संगै विकास निर्माणले फड्को मार्ने बताउदै सुकुम्वासी, अव्यवस्थित बसोवासको समस्यालाई समाधान गर्ने गरी अहिलेको सरकार अगाडि बढ्ने बताउनु भयो।
बुद्ध सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टेकबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य आशिषकुमार चौधरी, देवदह सव डिभिजन वन कार्यालयका प्रमुख चन्द्रबहादुर रानाभाट, गाउ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारी, समुहका पुर्वअध्यक्ष यमलाल तिवारी, समाजसेवी गंगाराम विक लगायतले आ–आफना भनाई राख्नु भएको थियो। कार्यक्रममा अध्यक्ष रानाले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष रेशमबहादुर गुरुङ्गले आर्थिक प्रतिवेदन, सचिव राधिकाकुमारी अर्यालले सचिवको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रममा युग ज्योति माध्यमिक विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री संगैै न्यानो कपडा वितरण गरिएको थियो। यसैगरी गौतम बुद्ध अन्र्तराष्ट्रिय उद्यानमा टिकट काउन्टर निर्माण गरिदिए वापत पाल्पा सिमेन्टलाई सम्मान गरिएको थियो। कार्यक्रममा समुहका जेष्ठ नागरिकहरुलाई समेत सम्मान गरिएको थियो। समुहका उपाध्यक्ष थमनसिंह गुरुङ्गको स्वागत र लेखा संयोजक सन्तोष भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।