काठमाण्डौ //
प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभामा आज भएको मत विभाजनमा १ सय ६६ मतसहित राना बिजयी हुदाँ उहाँका प्रतिपक्षी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएकी मुक्ताकुमारी यादवले ९७ मत प्राप्त गर्नुभएको छ । आजको मतदानमा २ सय ६४ जना सांसद सहभागी थिए भने एकजना सांसद तटस्थ बसेका छन्।
इन्दिरा राना मगरको प्रस्तावकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम तथा समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन रहनुभएको थियो। यस्तै यादवको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल हुनुहन्थ्यो ।