दीपक-सुमन जैसवाल, कञ्चन//
रुपन्देहीको कञ्चन गाँउपालिका वडा न. ४ को आयोजनामा माघ ५ गते बिहिबार देखी फुडल्याण्ड पार्टी प्यालेसको सभाहल शुरु भएको डल कुशन बनाउने तालिम समापन भएको छ। कञ्चन गाँउपालिका वडा न ४ ले आफ्नो वडाका दलित तथा विपन्न वर्गलाई आय आर्जन मुलक लक्षित तालिम शुरु गरेको थियो । सो तालिममा ३५ जना महिला सहभागीहरुलाई गुडिया कुशन बनाउने तालिम प्रदान गरिएको हो ।
कार्यक्रममा कञ्चन गाँउपालिका वडा न. ३ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि टिकाराम सापकोटाले तालिममा सिकेका सीपहरुलाई उपयोग गरि स्वरोजगार बन्न सकिने हुँदा व्यावसायिक रुपमा काम गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो।आगामी दिनमा सहभागीहरु निरन्तर रुपमा सक्रिय हुँदै काम गर्न र आवश्यक सीपका लागि गाँउपालिकालाई माग गर्दा पालिकाको सहयोग रहने बताउनुभयो ।
कुनै पनि काम गर्दा जोस, जाँगर र मेहनत आवश्यक पर्ने भएकाले मेहनतका साथ तालिममा सिकेको सिपलाई व्यवहारमा उतारे महिलाहरु आत्मनिर्भर बन्न सकिने वडा अध्यक्ष सापकोटाले बताउनु भयो। कार्यपालिका सदस्य शुसिला थापाले दलित तथा विपन्न वर्गलाई आय आर्जन मुलक लक्षित कार्यक्रम अन्तर्गत सहभागी महिलाहरूको मागको आधारमा गुडिया कुशन निर्माण तालिम संचालन गरेको र महिलाहरुलाई सीप तथा ज्ञानमा वृद्धि गरि स्वरोजगार बनाउनुका साथै उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि तालिम प्रदान गरिएको बताउनुभयो ।
वडा न. ३ का वडा सचिव चोलाकान्त पाण्डेयले हातमा सिप भएकाहरु कहिल्यै भोको हुनु नपर्ने बताउनु भयो। थोरै दिनको सिकाइमा पनि राम्रो सिप सिक्न सक्ने क्षमता भएकाहरुको लगनशिलताले सिपमा अझ निखारता आउने वडा सचिव पाण्डेयले बताउनुभयो। कार्यक्रमका अध्यक्ष तथा कञ्चन गाँउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले तालिमवाट प्राप्त भएको सीप व्यवहारमा लागु गर्न आग्रह गर्दै आगामी दिनमा यस वडाले थप नयाँ सिपहरुको तालिम सञ्चालन गर्दै जाने् बताउनु भयो । तालिम लिनु र दिनु ठुलो कुरा नभई सिकेको सिपलाई व्यवहारीक रुपमा कार्यान्वयनमा ल्याउनु नै ठुलो कुरा भएको वडा अध्यक्ष खत्रीले बताउनुभयो ।
तालिममा सहभागीहरुको तर्फबाट तालिमको अनुभव सुनाउदै प्रशिक्षार्थी सन्तोषी गोतामेले कञ्चन गाँउपालिका वडा न ४ ले आयोजना गरेको कार्यक्रम आफुहरुका लागि निकै उपलब्धी मूलक रहेको र प्राप्त गरेको सीपको सही प्रयोग गर्ने बताउनु भयो । सिप सिकेपछि आफुले व्यबसायिक रुपमा गुडिया, कुशन बनाएर आत्मनिर्भर बन्नका लागि प्रयास गर्ने प्रशिक्षार्थी गौतमले प्रतिबद्धता व्यक्त गर्नु भयो। प्रशिक्षक शुसिला बुडाथोकीले सहजीकरण गर्नु भएको तालिमको समापन कार्यक्रममा वडा सचिव चक्रपाणी पौडेलले सञ्चालन गर्नु भएको थियो।