बाजुरा//
बाजुरामा मङ्गलबार भूकम्प जाँदा ४२ घरपरिवार पूर्ण रूपमा विस्थापित भएका छन्। भूकम्पले हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडीमालिका नगरपालिकाका १५ परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।
बडीमालिकाका १२, हिमालीका चार र गौमुलका १४ परिवार आफन्तकहाँ बसेका छन्। भूकम्पले घर चर्किएका र बस्ने अवस्थाका नभएकाले पाँच परिवार त्रिपालको सहारामा छन्। भूकम्पका कारण झण्डै चार सय घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले सङ्कलन गरेको क्षतिको विवरणानुसार सबैभन्दा बडीमालिका नगरपालिकामा क्षति भएको छ।
भूकम्पले बडीमालिकामा २१, बूढीनन्दामा तीन र बूढीगङ्गामा एक घर पूर्णरूपमा क्षति भएका छन् भने हिमालीमा १९, गौमुलमा ११, खप्तड छेडेदहमा चार, स्वामीकार्तिक खापर गाउँपालिकामा एक गरी ६० घर पूर्णरूपमा क्षति भएको डीएसपी थापाले बताए। बडीमालिकामा ३१, बूढीनन्दामा नौ, हिमालीमा नौ, खप्तड छेडेदह पाँच र गौमुलमा पाँच घरमा आंशिकरूपमा क्षति पुगेको छ।
यसैगरी भूकम्पले बडीमालिकामा एक सय ८७, बूढीनन्दा नगरपालिकामा एक, हिमाली ४० र स्वामीकार्तिक खापर गाउँपालिकामा एक घरमा सामान्य क्षति पुगेको छ। भूकम्पबाट प्रहरी चौकी विच्छ्या जोखिममा छ। प्रहरी चौकी कुन्नार कारागार सुरक्षा गार्ड ब्यारेक चर्किएको छ। भूकम्पबाट १ जनाको मृत्यु भएको थियो भने ४ जना घाईते भएका थिए ।