काठमाण्डौ //
आज शहीद दिवस । प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा आज विविध कार्यक्रम गरी मनाईएको छ। विसं २०१२ सालदेखि हरेक वर्ष शहीदको सम्झनामा माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गरिन्छ । जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा हरेक माघ १६ गते शहीद दिवस मनाइन्छ ।
पछिल्ला वर्षहरुमा शहीद दिवसको दिन अन्य जनआन्दोलनमा प्राण आहुति दिने योद्धाहरूको पनि सम्मान गरिन्छ ।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाण्डौको टेकुमा रहेको पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।
शहीद दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिँदै नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।